१६ बैशाख, बिराटनगर । न्यायपरिषदले हालै गरेको न्यायाधीश नियुक्तिको सिफारिसमा विवाद भइरहेका बेला न्यायपरिषदका एक सदस्यले मंगलबार बिराटनगरमा भाषण गर्दै खिलराज रेग्मी नेतृत्वको सरकारले खुट्टा कमाउँदा न्यायाधीश नियुक्तिमा ढिलाइ भएको बताएका छन् । 
कुम्भ मेलामा स्नान गरेका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मासँगै मंगलबार बिराटनगर पुनरावेदन अदालतको भवन उदघाटन समारोहमा पुगेका न्यायपरिषद सदस्य खेमनारायण ढुंगानाले समुद्रमा मोती भेट्टाउन मुस्किल परेको भन्दै बरिष्ठलाई न्यायाधीशमा सिफारिस गरिएको स्पष्टीकरण दिए । एमालेका पूर्व नेतासमेत रहेका ढुंगानाले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्ने कुरामा समुद्रमा मणि खोज्ने कार्य भन्दा पनि वरिष्ठता क्रमलाई पहिलो प्राथमिकतामा राखिएको बताए । साउनको पहिलो हप्ताभित्रै न्यायाधीश नियुक्ति गर्ने योजना गरिएको भए पनि ढीलो भएकाले समुद्रबाट मोती खोज्ने कार्य स्थगित गरी वरिष्ठता क्रमलाई आगाडि बढाइएको बताए । ‘चुनावी मन्त्रिपरिषदका अध्यक्षले नेतृत्व गरेको सरकारका तत्कालीन कानुनमन्त्री (हरिप्रसाद न्यौपाने) ले न्यायाधीशहरुको पदपूर्ति गर्ने कार्यमा खुट्टा कमाए, समय अभावका कारण हतारमा हामीले तत्काललाई ८ जना न्यायाधीशको सिफारिस गर्‍यौं,’ ढुंगानाले भने, ‘तर, विवादमा तानिन पुन्यो ।’ सर्वोच्च अदालतमा न्यायाधीशको सिफारिसलाई लिएर अनावश्यक टिप्पणी भइरहेको उनले गुनासो समेत गरे । 
मैले गल्ती गरे औंला ठड्याए हुन्छ : शर्मा
पुनरावेदन अदालतको नवनिर्मित भवन उदघाटन गर्दै प्रधानन्यायाधीश शर्माले स्वतन्त्र र कानुनी शासन कायम गराउने कुरामा आफु चुकेमा औंला ठड्याउन सबैमा अपील गरेका छन् । 
 शर्माले कानुनी शासन कायम गराउन आफू कदापि नचुक्ने प्रतिवद्धता जाहेर गरे । न्याय सम्पादन गर्ने क्रममा आफु सधैँ विधिको शासनअनुरुप अगाडि बढ्ने बताउादै शर्माले पीडितहरुलाई न्याय दिलाउने कुरामा कहीाकतै कमजोरी नहुने दाबी गरे ।
सात वर्षमा बन्यो तीनतले अदालत 
बिराटनगरमा मंगलबारदेखि पुनरावेदन अदालतले नयाँ भवन पाएको छ । १३ करोड ३३ लाख ८५ हजार रुपैयाँको लागतमा ३ तले नयाा भवन निर्माण भएको हो । एक विघा १ कठ्ठा १० घुर क्षेत्रफलमा निर्माण भएको भवनमा ६६ कोठा रहेको छ । ०६३ सालमा भवन निर्माणका लागि सम्झौता गरिएको भए पनि ७ वर्षसम्मको समय अवधिमा मात्र भवनको निर्माण कार्य पूरा भएको छ । दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने योजनासहित ८ करोड १७ लाखमा भवनको निर्माण कार्य पूरा गर्ने सम्झौता गरिएको थियो । तर समयमै भवन निर्माण पूरा नभएपछि लागत बढेर करिब साढे १४ करोड पुगेको हो ।
सात वर्षमा निर्माण पूरा भएर मंगलबार उद्घाटन भएको पुनरावेदन अदालत बिराटनगरको भवन ।


 कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद

Post a Comment

 
Top