राजेन्द्र न्यौपाने/गोरखा
सामान्यतया किसान भनेपछि आर्थिक रुपमा सम्पन्न नभएको गरिव भनेर बुझ्ने चलन नेपाली समाजमा पाईन्छ । गोरखा च्याङ्लीका एक किसान भने यसका अपवाद पात्र बनेका छन् । किसान राजेन्द्र राज पन्त आफ्नो वार्षिक आम्दानी एक करोड ६५ लाख ६० हजार भन्दा बढी हुने बताउँछन् ।

यहाँको पाँचसय रोपनी क्षेत्रफलमा पन्तले विगत लामो समयदेखि व्यावसायिक गाई पालन गर्दै आएका छन् । दैनिक ४० लिटर दुध दिने १०० भन्दा बढी गाई पन्तको फारममा रहेका छन् । २५० वटा गाई रहेको कामधेनु फारममा औषतमा दैनिक एकहजार देखि एक हजार एकसय लिटर सम्म दुध संकलन हुने गर्दछ । प्रतिलिटर ४६ रुपैयाँमा विक्री हुँदै आएको दुधबाट पन्त करोडपति बनेका हुन् ।

नीजि क्षेत्रद्वारा सञ्चालित देशकै ठूलो उक्त गाई फारमको अर्को आम्दानीको स्रोत अभिमूखिकरण समेत बनेको छ । गाई पालनका लागि केही कुरा सिक्न आउनेहरुसँग लिईने शुल्क मासिक ६० हजार सम्म हुने गरेको पन्तको भनाई छ ।

देशैभरीका किसानहरु यहाँ सिक्नका लागि आउने गरेका छन् । उनीहरुले यहीँबाट गाईका बाच्छीहरु लगेर लाभ लिएको किसान पन्तको भनाई छ ।

सुरुका दिनमा ७ वटाबाट थालनी गरिएको यहाँको फारममा जर्सी, हल्इस्टेन, टेरन्टाइज लगायतका जातका गाईहरु रहेका छन् ।

गाईका लागि २५० रोपनी क्षेत्रफलमा नेपियर, मोलाटो, सुम्बा, सेटरीया लगायत विभिन्न जातका घाँसहरु लगाईएको छ । गाईलाई साँढे लगाउनुको सट्टा कृत्रिम गर्भाधान गराउने गरिएको छ । दैनिक २२ जनाले यहाँ रोजगार समेत भएका छन् ।

पन्तका स्नातक तह उतीर्ण छोराहरु राजीव र राजन समेत गाईफारमकै काम गर्दै आएका छन् । पोखरा स्थित पन्थी डेरीले यहाँ उत्पादन भएको दुध लैजाने गरेको  छ । सुरुमा कृषि विकास बैंकबाट ऋण लिएर गरेको पेशा सफल हुँदै गएपछि आफ्नो सम्पूर्ण परिवार गाईपालनमा  सक्रिय भएको राजेन्द्र बताउँछन् ।

देशको विकास कृषि क्षेत्रबाट मात्रै सम्भव रहेको बताउने किसान पन्त राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताउँछन् । व्यावसायीक पशुपालन गर्ने किसानका लागि आफूले सँधै प्रोत्साहन गर्ने उनको भनाई छ ।

Post a Comment

 
Top