पार्वती आले/गोरखा : सुरक्षाको अवस्थालाई ध्यान दिँदै गोरखामा पनि अब क्लोज सर्किट टिभी (सिसीटिभी) क्यामेरा जडान गरिने भएको छ । बजारमा हुन सक्ने चोरी, डकैतीको  नियन्त्रण तथा सवारी दुर्घटनाको   न्यूनिकरणका लागि सिसीटिभी क्यामेरा जडान गर्न लागिएको हो ।

गोरखा बजारको मुख्य चोकहरु जिविस चोक, घ्याम्पेसाल चोक, हरमटारी चोक, शक्ति चोक, बसपार्क लगायतका २० स्थानमा क्यामेरा जडान गरिने भएको हो । करिब ६० मिटर टाढा सम्मको दृश्य क्यामेराले कैद गर्न सक्नेछ । क्यामेराले चौबिसै घण्टा प्रत्यक्ष रुपमा दृश्य कैद राख्ने र सो को बिशेष निगरानी राखिने भएकाले हरेक अपराधिक कृयाकलापमा नियन्त्रण आउने  प्रहरी विश्वास छ ।

गोरखा बजारमा सुरक्षाका दृष्टिकोणले विभिन्न सरकारी तथा नीजि बैँकहरु एवं सुनचाँदी पसलहरु संवेदनशिल    मानिन्छन् । प्रहरीले तिनै स्थानहरुलाई प्राथमिकतामा राखी सिसीटिभी जडानको काम सुरु गर्ने भएको छ । सिसीटिभीको नियन्त्रण कक्ष प्रहरीको कार्यालयमा राखिने छ जिल्ला प्रहरी कार्यालय गोरखाका 
प्रमुख प्रहरी नायब उपरिक्षक रमेश थापा बताउँछन् ।

काठमाडौँबाट आएको प्राविधिकको एक टोलीले क्यामेरा जडान गर्ने स्थानहरु छनौट गरेको छ । क्यामेरा जडानका लागि आवश्यक पर्ने करिब २० लाख रुपैँया जिल्लाका विभिन्न सङ्घ सँस्थाहरु संग सहयोग स्वरुप संकलन गरिने छ । जसका लागि भगवान बाबु मास्केको संयोजकत्वमा १७ सदस्यिय एक सहयोग संकलन समितिको गठन पनि सोमबार नै गरिएको छ । क्यामेरा जडानका लागि जिल्ला विकास समिति,        नगरपालिका, उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, विभिन्न बैँकहरु लगायतले सहयोग गर्ने वचन दिएका छन् ।

Post a Comment

 
Top