नयन केसी/गोरखा
आफु सानै छँदा बाबु बिते  उनका । खुब माया गर्ने आमाले पनि बाबु बितेपछि अर्कैलाई माया गरीन् र उनलाई छाडेर गइन् । यो संसारमा उनको भन्नु सायद भगवान मात्रै थिए होलान् । भन्छन् नि, ‘आमा पछिको मामा’, त्यस्तै भयो बिनिता (नाम परिवर्तन) लाई । उनको मामाले संरक्षण गरेर उनलाई धुँवाकोटकै विद्यालयमा भर्ना गरिदिए । ‘धन्य भगवान्, यो संसारमा मलाई माया गर्ने कोही त   रहेछ’ यस्तै लाग्थ्यो उनलाई ।

१० वर्षकी उनी पढ्नु बाहेक यसो फुर्सदमा जंगल तिर पनि जाने गर्थीन् । गत चैतको १३ गते जंगलमा गएको बेलामा मामाघर गाउँकै टिकाराज सेढाईले ५० रुपैयाँ हातमा राखिदिए । खुसीसाथ उनले त्यो पैसा लिइन् तर पैसा हातमा लिएपछि उनले उक्त व्यक्तिले राखेको प्रस्ताव भने स्विकार्न सकिनन् । किनभने उनलाई ती व्यक्तिले राखेको प्रस्तावका बारेमा न त कुनै ज्ञान थियो न त कुनै रुचि । बरु उनलाई डर लाग्यो र त्यहाँ बाट भाग्न थालिन् । सानो मान्छे, जति भागेपनि त्यो व्यक्ति भन्दा छिटो भाग्न  सकिनन् । अचानक ढुङ्गामा ठेस लाग्यो र उनी लड्न पुगिन् । उक्त पापी व्यक्ति त्यहाँ आइपुग्यो र आफ्नो अभिष्ठ पुरा ग¥यो । त्यो जंगलमा उनको रोदन सुन्ने बाबुले त उनलाई पहिल्यै छाडिसकेका थिए भने आमाले पनि उनको माया चटक्कै मारेकी  थिइन् । आफुलाई माया गर्ने मामा पनि उनको चिच्याहट सुन्ने ठाउँमा थिएनन् । आफ्नो बाबु भन्दा पनि पाको उमेरको मान्छेले यस्तो गर्ला भनेर उनले कहिल्यै सोचेकी सम्म थिइनन् । फेरी एकपटक उनलाई लाग्यो, यो संसारमा मेरो भन्नु त साँच्चै कोही रहेनछ ।

नाम्जुङ गाउँ विकास समिति वडा नं. ३ रिपथोककी १० वर्षिय अमृता    (नाम परिवर्तन) लाई पनि भयो    त्यस्तै । जन्मजात नै अपाङ्गता भएर एउटै ओच्छ्यानमा परेकी उनलाई उनका बाबुआमाले हरतरहले हेरविचार र मायाममता दिएका थिए । उनी आफ्ना कुराहरु न त मुखले राख्न सक्थिन् न त हातले इशारा नै गर्न सक्थिन् । सक्थिन् त केवल हाँस्न र रुन मात्रै । आफ्ना भावना पोख्ने त्यही एउटा माध्यम थियो । आमाबाबु छिमेकीको अर्गुङमा गएका बेला गत फागुन २८ मा उनको त्यही शारीरिक कमजोरीको फाइदा उठायो गाउँकै १७ वर्षको शरण गुरुङले । उनलाई  शरणले पशु भन्दा पनि तल्लो स्तरमा गिरेर बलात्कार ग¥यो ।
च्याङ्ली गाविस वडा नं.–६ की ३५ वर्षिय हरीमाया (नाम परिवर्तन) कि मितिनी सुत्केरी भइन् । मितिनीको स्याहार सुसार गर्न मितिनीको घरमा जाँदा उनलाई के थाहा कि मित जस्तो पवित्र नाता भएको मान्छेको मनमा पाप होला भनेर फेरी हेर्दा आफ्नो बाबु समानका । गत चैत १९ गते मितिनीको घरमा गएका बेलामा उनलाई उनकै ५५ वर्षिय मित दयाराम लामिछानेले जबरजस्ती गर्ने प्रयास गरे धन्न उनी भागेर बाँच्न सफल भइन् ।

यी र यस्ता घटना जिल्ला प्रहरी कार्यालय गोरखामा दर्ता भएका ‘केही’ नमुना घटना मात्रै हुन् । एक्काइसौँ शताब्दीको सर्वश्रेष्ठ प्राणी भनेर गर्व गर्ने हामी मानिसहरुको केही घृणित कार्यले गर्दा सिंगो मानव जगत नै कलंकित भइरहेको छ ।

गोरखा जिल्ला कै अवस्था हेर्ने हो भने विगतका वर्षहरुमा भन्दा यो वर्ष बलात्कारका घटनाहरुमा झन्    बढोत्तरी भएको छ । आर्थिक वर्ष २०६९÷७० मा कुल ८ वटा जवरजस्ती करणीका घटनाहरु दर्ता भएका थिए भने यो वर्ष को ९ महिनामा नै ७ वटा घटना प्रकाशमा आइसकेका छन् । गत वर्ष ५ वटा जबरजस्ती करणी उद्योग तथा ३ वटा जबरजस्तीका घटना भएका थिए । यो वर्ष जबरजस्ती करणी उद्योगको घटना ३ वटा छ भने बलात्कारकै घटना ४ वटा भइसकेको छ ।

समाजमा चेतनाको स्तर माथि नउठ्नु नै बलात्कारको प्रमुख कारण भएको जिल्ला प्रहरी कार्यालय        गोरखाका प्रमुख प्रहरी नायब  उपरिक्षक रमेश थापा बताउँछन् । ‘मानिसमा एक क्षणको यौन आवेगका कारण यस्ता घटना हुन्छन्’ उनले भने ‘मानिस जस्तो चेतनशिल प्राणीले आफ्नो चेतना गुमाउँदा जबरजस्तीका घटना हुने गरेका हुन् ।’

प्रहरी नायब उपरिक्षक थापाको भनाई संग अन्तरपार्टी महिला सञ्जाल गोरखाकी अध्यक्ष सम्झना देवकोटा पनि सहमत छिन् । उनी भन्छिन्, ‘बलात्कारको घटना हुनुको मुख्य कारण भनेको अशिक्षा, महिलाको आफुलाई कमजोर ठान्ने कमजोरी मानसिकता पनि हो ।’

‘२÷४ शब्द मिठो बोलेमा वा केही सानो आश्वासन देखाएमा पनि महिलाहरु छिटै नै भावनामा बग्ने खालका हुन्छन् ।’ महिलाको कमजोरीका बारेमा उनी भन्छिन्, ‘तर गोरखाका अधिकांश घटनाहरु हेर्ने हो भने महिलाको कमजोरी भन्दा पनि पुरुषको दम्भ बढी भएको देखिन्छ ।’

बलात्कारको घटनाको न्यूनिकरणका लागि स्वयम् महिला जागरुक हुनु नै सबैभन्दा मुख्य सुरक्षाको उपाय भएको भन्दै देवकोटाले यसका लागि सञ्चारमाध्यमहरुले पनि सकारात्मक कुराहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिइन् । साथै सञ्चारमाध्यमकै कारण अहिले घटनाहरु बाहिर आएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ गोरखाका निवर्तमान अध्यक्ष कैलाशबाबु श्रेष्ठ पनि घटनाको सङ्ख्यामा वृद्धि भएको भन्दा पनि बढि मात्रामा सञ्चार माध्यमबाट बाहिर आएको बताउँछन् । उनी भन्छन्, ‘पहिले डर त्रासले, लाजले गर्दा ठूला ठूला बलात्कारका घटनाहरु पनि घरभित्र या समाज भित्र नै गुपचुप राखिन्थ्यो तर अहिले मानिसहरु बिस्तारै खुल्न थालेका छन् ।’ घटना बाहिर ल्याउँदा दोषीलाई कारबाही हुने र आफुले न्याय पाइन्छ भन्ने थाहा पाएर पिडितहरुले उजुरी गर्ने काम बढेको उनको भनाई छ ।

बलात्कारका घटनालाई न्यूनिकरण गर्नका लागि आफुहरुले कुनै कसर बाँकी नराख्ने प्रहरी भनाई छ । जसका लागि समुदाय तथा अन्य सहयोगी निकाय तथा समुदाय संगको सहकार्यमा प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्ने तयारी समेत गरिरहेको प्रहरी नायब उपरिक्षक थापा  बताउँछन् ।

जबरजस्ती करणी मुद्धामा परेकालाई आफुहरुले कडा भन्दा कडा कारबाही दिलाउनका लागि लागिपरेको प्रहरी निरिक्षक रामचन्द्र पौडेलको भनाई   छ । ‘हामी जबरजस्ती करणीको मुद्धालाई बिशेष प्राथमिकतामा राखी अनुसन्धान गछौँ र अपराधीलाई सजायँ दिलाएरै छोड्छौँ’ उनले भने ।

Post a Comment

 
Top