तालिम उद्घाटन गर्दै अध्यक्ष जोशी । तस्बिर ः राजेन्द्र न्यौपाने÷मातृभूमि
 गोरखा : उद्योग वाणिज्य सङ्घ गोरखाको सहयोग र इलम प्रशिक्षण केन्द्र गोरखाको आयोजनमा आइतबारबाट गोरखामा ३ महिने मोबाइल मर्मत तालिम सुरु भएको छ ।

उद्योग वाणिज्य सङ्घको तालिम कक्षमा सुरु भएको तालिममा जिल्लाभरका २५ जना सहभागीहरुको सहभागिता रहेको छ । बेरोजगारी हटाई गाउँमा नै स्वरोजगारको अवसर प्रदान गर्ने उद्देश्यका साथ सुरु भएको तालिममा सुमन कार्कीले प्रशिक्षण दिइरहेका छन् ।

इलम प्रशिक्षण केन्द्रका प्रशिक्षक तथा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष भगतबाबु जोशीको अध्यक्षतामा आज भएको तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जोशीले लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकमा काम गर्न जानुको साटो सिप सिकेर स्वदेशमा नै केही गर्न सकुन् भनी यूवाहरुलाई लक्षीत गरी तालिम सञ्चालनमा ल्याएको बताए ।

तालिममा सहभागीहरुलाई तालिम सकिए पश्चात व्यवसाय गर्न चाहे आफुहरुले थप सहयोग गर्ने भन्दै उनले भने ‘तालिम पश्चात व्यवसाय गर्नका लागि विभिन्न बैँक, सहकारी मार्फत पनि हामी      स्वरोजगार कोषबाट उद्यमीहरुलाई सहयोग उपलब्ध गराउनेछौँ ।’

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घका द्वित्तीय उपाध्यक्ष जीवनज्योति श्रेष्ठले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न आग्रह गर्दै तालिम लिएका यूवाहरु भविष्यमा राम्रो उद्यमी बन्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सदस्य भाइचन्द्र श्रेष्ठ, भगवानबाबु मास्के, प्रशिक्षक सुमन कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top