कुरो यस्तो हो : टेलिकम प्रमुख संग गुनासो राख्दै । तस्बिर राजेन्द्र / मातृभूमि
नयन केसी/गोरखा : गाउँमा सडक तथा मोबाइलको सेवा माग गर्दै ताकुकोटका स्थानीयहरु सदरमुकाममा आएका छन् । गोरखा सदरमुकाम बाट ९ कोश टाढा रहेको ताकुकोटमा गोरखा स्वाँरा सौरपानी सडक खण्डको गोरखा–नारेश्वर–निमेल–पिपलडाँडा हुँदै  मोहोरीया पाल्खु सम्मको मोटरबाटो  स्तरोन्नतीको माग गर्दै स्थानीयहरु      सदरमुकाम आएका हुन् ।

निमेल देखि ताकुकोट गाउँ विकास समितिको पाल्खु सम्मको मोटरबाटोको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको र केही दिन सम्म बस गएपनि बाटो अप्ठ्यारो भएको भन्दै बस जान रोकिएपछि स्थानीयहरु सडकको स्तरोन्नतीको साथमा नियमित बस सञ्चालनको माग गर्दै सदरमुकाम आएका हुन् ।

‘दुई चार दिन बस त पुगेको थियो तर बाठो ठिक छैन भन्दै गाउँमा बस नै ल्याएनन्’ ताकुकोट गाविस वडा नं. ७ का धनप्रसाद गुरुङ चन्छन् । निमेल माथिको ३ स्थानमा सडक अप्ठ्यारो भएको र सोही कारणले गर्दा बस नियमित रुपमा सञ्चालन हुन नसकेको ताकुकोट ३ का तिल बहादुर फेवाली बताउँछन् ।

आइतबार ताकुकोट बाट आएको ४० जनाको टोलीले स्थानीय विकास  अधिकारी महेश बराल समक्ष स्तरोन्नतीका लागि आवश्यक रकमको माग गर्दै मागपत्र समेत बुझाएको छ । मागपत्र बुझ्दै स्थानीय विकास अधिकारी बरालले तत्कालै आफूहरुले केही गर्न नसक्ने र आगामी दिनमा मिलेसम्म बजेट विनियोजन गर्ने आश्वासन दिए । डेलिगेसनको टोलीले राजनैतिक दलका प्रतिनिधीहरु संग पनि भेटी आफ्नो मागका बारेमा ध्यानाकर्षण गराएको छ ।

‘जिल्लामा क्रियाशिल सबै राजनैतिक दलका प्रतिनिधीले हाम्रो माग राम्रो संग सुन्नुभएको छ’ डेलिगेसनमा आएका माइकोट माविका प्रधानाध्यापक निर्मल धितालले भने, ‘उहाँहरुले हाम्रो माग जोडदार रुपमा उठाउने बाचा गर्नुभएको छ ।’

यसैगरी डेलिगेसनमा आएको टोली गाउँमा करिब ४ वर्ष पहिले निर्माण सम्पन्न भएको नेपाल टेलिकमको टावर हालसम्म पनि सञ्चालनमा नआएको भन्दै टेलिकम शाखा गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठको ध्यानाकर्षण गराएको छ । गाउँको बिचमा टावर रहेको भएपनि मोबाइलमा भने सेवा पाउन नसकिएको उनीहरुको गुनासो छ ।

स्थानीयको गुनासो सुन्दै प्रमुख श्रेष्ठले ताकुकोटमा रहेको टावर सञ्चालनमा ल्याइएको भएपनि त्यहाँको मेसीनको खराबीले नेटवर्कमा समस्या आएको बताउनु भयो । मोबाइल नेटवर्कमा समस्या आएको कुरा आफूलाई जानकारी नभएको भन्दै अब तत्कालै समस्या समाधानका लागि कार्य अगाडी बढाउने आश्वासन दिए ।

स्थानीयले भने कार्यलयबाट जहिले पनि आश्वासन मात्रै दिने गरेको र काम भने नभएकोमा आक्रोश व्यक्त गरेका थिए ।

Post a Comment

 
Top