१६ बैशाख, काठमाडौं । एसीसी प्रिमियर लिग खेल्ने नेपाली क्रिकेट टोली मंगलबार मलेसिया प्रस्थान गरेको । १४ खेलाडीसहितको १८ सदस्यीय नेपाली टोली मध्याह्न मलेसियन एयरलाइन्सको विमानबाट मलेसिया गएको हो । एसियन क्रिकेट काउन्सिलले पहिलो पटक राउन्ड रोविन लिगका आधारमा खेलाउन लागेको प्रतियोगितामा नेपालसँगै एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान, हङकङ यूएईसँगै ओमान र आयोजक मलेसियाले खेल्नेछ । वर्षको अन्त्यमा हुने एसीसी च्याम्पियनसिपको छनोट प्रतियोगिताका रुपमा समेत रहेको छ । बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा राम्रो प्रदर्शन गरेको नेपालका लागि एकदिवसीयमा गुमेको शाख फर्काउने मौका हुनेछ । न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपालले सबै खेल गुमाएको थियो । अघिल्लो प्रतियोगितामा नेपाल र युएई संयुक्तरूपमा विजेता बनेका थिए । एसियाली क्रिकेट काउन्सिले यसअघि इमर्जिङ प्रतियोगिता र एलिट प्रतियोगिता गर्दै आएको थियो । एसीसी प्रिमियर लिग प्रतियोगिता भने पहिलो पटक गर्न लागिएको हो । यो प्रतियोगिता टेस्ट खेल्न मान्यता नपाएका राष्ट्रबीच हुन लागेको पहिलो प्रतियोगिता हो । एसीसी प्रिमियर लिगमा नेपाल, अफगानिस्तान, हङकङ, युएई, ओमान र आयोजक मलेसिया सहभागी छन् । छोटो तयारीमा मलेसिया जान लागेका कप्तान पारस खड्काले लक्ष्य उपाधि जित्नु भएको बताएका छन् । नेपालले पहिलो खेलमा १८ गते यूएईको सामना गर्नेछ । क्यानको निर्णयप्रति खेलाडीको आक्रोश क्यानले प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि तीन महिनामात्रै थपेपछि खेलाडीहरूले आक्रोश ब्यक्त गरेका छन् । मलेसिया उड्नुअघि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका कप्तान पारस खड्का क्यानले पुवुदुलार्इ हटाउने नियतले तीन महिनामात्र म्याद थपेको बताएका छन् । ‘नेपाली क्रिकेट र हामीलार्इ यो अवस्थामा ल्याउनमा प्रशिक्षक पुबुदुको महत्वपूर्ण भूमिका छ’, खड्काले भने, ‘तीन महिनामात्रै म्याद थपेर उनलाई निकाल्ने योजना बनाइएको हुनसक्छ ।’ खेलाडीहरूले प्रशिक्षकको म्याद तीन महिनामात्रै थपेर उनलार्इ हतोत्साहित गरार्इ हट्न बाध्य पार्न खोजिएको हुनसक्ने शंका व्यक्त गरेका छन् । कप्तान खड्काले पुबुदु क्यानको कर्मचारी नभएको बताउँदै क्यानले पुबुदुलार्इ प्रशिक्षकको ब्यबहार गर्नुपर्ने उल्लेख गरे । मलेसिया उड्नुअघि पुबुदुले त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै तीन महिनापछि क्यानसँगको सम्झौता नविकरण गर्नेबारे केही नसोचेको बताए । सन् २०११ मा नेपाल आएका पुबुदुको पहिलो करार ०६९ चैत १७ मा सकिएपछि क्यानले १ वर्ष म्याद थप्ने निर्णय गरेको थियो ।
कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद
Post a Comment