नयन केसी/गोरखा : ताप्ले ८ की आइतमाया मग्राती मङ्गलबार अकस्मात आफ्नो हातमा फलफुलको पोका पाएपछि अक्क न बक्क परिन् । गोरखा अस्पतालको बेड नं. ६ मा विगत ४ दिनदेखि दम रोगको उपचार गराइरहेकी आइतमायाले सुस्तरी भनिन्– ‘किन दिनु भएको बाबु, म यो लिन्नँ ।’
जब गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु थापाले उनको शिघ्र स्वास्थ्य लाभको कामना सहित आफूहरु फलफुल दिन आएको बताए तब आइतमायाको आँखाबाट बरर्र आँशुका ढिक्का झरे । एक हातले आँशु पुछ्दै अर्काे हातले फलफुलको पोका लिएकी आइतमायाले भनिन्– ‘बिरामी भएर अस्पताल बसेको यतिका दिनमा पनि घरबाट कोही भेट्न आएका थिएनन्, आज बाबुहरुले आफ्नै ठानेर फलफुल दिनुभयो । मन थाम्नै सकिँन ।’
मङ्गलबार आइतमाया जस्तै गोरखा अस्पतालमा रहेको १६ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । २५५८ आँै बुद्धजयन्तिको अवसर पारेर गोरखा बौद्ध समूहको आयोजनामा उक्त फलफुल वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रममा समूहका अध्यक्ष विष्णु थापा मगर, अस्पतालका डाक्टर योगेन्द्र अमात्य, नेपाल मगर सङ्घ गोरखाका अध्यक्ष विष्णु राना मगर, बौद्ध गुम्बा निर्माणको लागि जग्गादान गर्नुहुने भोलारत्न शाक्य, सल्लाहकार क्याप्टेन एक बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
‘गौतम बुद्धको शान्ति र अहिंसाको नीतिलाई अङ्गाल्दै अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल बाँडेका हौँ ।’ फलफुल वितरण पश्चात गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु थापाले भने ।
Post a Comment