लम्जुङ्ग श्रावण ३१ चण्डिस्थानको अक्करखोला उत्तीसघारीको पहिरो हटाईयो अविरल परेको बर्षाका कारण लमजुङको चण्डिस्थान अक्करखोला उत्तीसघारीमा पहिरो जाँदा अवरुद्ध भएको बेसीशहर–खुदी सडक खुलेको छ । विहीबारदेखिको लामो प्रयासपछि शनिबारदेखि बाटो पूर्ण रुपमा सडक खुलेको हो । सदरमुकाम बेसीशहरदेखि झण्डै ४ किलोमीटरको दुरीमा पर्ने चण्डिस्थान अक्करखोला उतिसघारीमा झण्डै १ सय मीटरबाटो पहिरोले पुर्नुका साथै बगाएको थियो । बाटोमा पहिरोले समस्या पारेपछि उत्तरी लमजुङ तथा मनाङतर्फ आवतजावतका लागि गन्तब्यमा हिँडेका यात्रुले सास्ती खेप्नुपरेको थियो । बेसीशहर नगरपालिका वडा नम्बर १४ मा पर्ने उत्तीसघारीमा मानिस समेत हिँड्न नमिल्ने गरी पहिरो गएकोमा माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको एक्साभेटर र ब्रेकरले बाटो खुलाएको हो । बाटो बन्द भएपछि बाटो खुलाउन पटक–पटक प्रयास गरिएपनि सफल हुन सकेको थिएन । यसअघि बाटो खुलाएपनि अविरल परेको बर्षाका कारण बाटोमा पहिरो गएको थियो । अक्कर खोलको पहिरोलाई पन्छाएपनि उत्तरी लमजुङको अर्खलेदेखि माथि सवै ठाउँका पहिरोलाई हटाउन भने महिनादिन लाग्ने भएको छ । बर्षाका कारण लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमीटरको एक दर्जनबढी ठाउँमा पहिरो गएको छ । अहिले लमजुङ खण्डको ताघ्रिङ काप्रेभीर, स्याँगे, च्याम्चे साथै लमजुङ र मनाङको सिमाना म्यार्दीभीर, मनाङतर्फको सिरानताल, तिमाङखोला लगायतका ठाउँमा पहिरो गएको छ । ती पहिरो पन्छाउन कसैले प्रयास गरेका छैनन् । पहिरोका कारण अहिले बाटोमा मानिसहरु समेत हिँड्न नसकेका स्थानीयवासिन्दाले बताएकाछन् । लमजुङको खुदिदेखि भुलभुले हुँदै चक्रीय अन्नपूर्ण पैदलयात्राको मार्ग भएपनि सो पदमार्गको ठाउँठाउँमा पहिरो गएको छ । पुरानो बाटोमा समेत बर्षाका कारण बाढीपहिरो भएपछि पर्यटक, मनाङमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी साथै स्थानीयवासिन्दाले जोखि मोलेर यात्रा गरिरहेकाछन् । लमजुङको सुन्दरवजारमा बन्द भएको हाटबजार संचालन लमजुङको सुन्दरवजार मिलनचोकमा संचालन भएर पनि केही महिनायता बन्द कृषि हाटबजार फेरी संचालनमा आएको छ । प्रत्येक हप्ताको शनिवार हाटबजार संचालन गरिएकोमा बन्द भएको महिनादिनपछि फेरी शनिबारदेखि कृषि हाटबजार मेलाका व्यवस्था गरिएको छ । हाटवजारमा सुन्दरवजार गाउँ विकास समिति साथै छिमेकी गाविसहरु ताकू, परेवाडाँडा, कुन्छा, दुराडाँडा लगायत गाविसका कृषकहरुले उत्पादन गरेका कृषि सामग्रीहरु ल्याउन थालिएको छ । स्थानीय कृषकले विभिन्न प्रकारका तरकारी, फलफुल, घरायसी हस्तकलाका सामाग्रीहरु डोको, डालो, नाम्लो, भकारी, नाङ्लो, कुटो, कोदालो साथै कुखुरा, खसीवोका विक्रीवितरणका लागि ल्याउन थालेको उपभोक्ताले बताएकाछन् । स्थानीय कृषकहरुको कृषि तथा पशुजन्य उत्पादनको प्रवद्र्धनका लागि सुन्दरवजार कृषि हाटवजार संचालनमा ल्याइएको हो । कृषि हाट वजारमा कृषकहरुले आफ्नै घरगाउँमा उत्पादन गरेका सामग्रीहरु विक्रीका लागि ल्याउन सक्ने र आवश्यक सामाग्री सुपथ मुल्यमा किनेर लान सक्ने लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाइले जनाएको छ । शनिबारदेखि संचालनमा ल्याईएको कृषि हाटबजारको लमजुङ उद्योग वाणिज्य संघ सुन्दरवजार ईकाईका अध्यक्ष गालु मियाले उद्घाटन गर्नुभयो । वल्र्ड भिजन लमजुङ एडिपीको सहयोग, स्वावलम्वी समाज सेवा केन्द्र लमजुङ र लमजुङ उद्योग वाणिज्य संघ सुन्दरवजार ईकाईको व्यवस्थापनमा कृषि हाटबजार संचालनमा ल्याईएको हो । उद्घाटन कार्यकममा वल्र्ड भिजन लमजुङ एडीपीका विकास संयोजक प्रेम थापा, स्वावलम्वी समाज सेवा केन्द्रका कोषाध्यक्ष दीपक न्यौपाने, सुन्दरबजार खानेपानी उपभोक्त समितिका अध्यक्ष उत्तम गुरुङ, नेपाली कांग्रेस सुन्दरवजार गाउँ कार्य समितिका सभापति मुरली कुमाल, गैरी क्याम्पसका प्रमुख मित्रलाल भण्डारी, उद्योग वाणिज्य संघ सुन्दरवजार ईकाइकी सदस्य शान्ति श्रेष्ठ लगायतले हाटवजारले कृषकहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । स्वालम्वी सेवा केन्द्रका कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले स्वागत मन्तब्य राख्नुभएको उद्घाटन कार्यक्रमको संचालन उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाइका सचिव अर्जुन परियारले गुर्नभएको थियो । बाग्लुङपानीमा स्वास्थ्य चौकीको भवन निर्माण लमजुङको बाग्लुङपानी गाउँ विकास समिति वडा नम्बर ६ को कपुरगाउँमा बाग्लुङपानी स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ । सरकारद्धारा विनियोजित १ करोड ४१ लाख रुपैँयाको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गरिएको हो । २ तले पक्की भवनको सबै काम सकिएको र झ्याल, ढोका र कम्पाउण्डिङको काम मात्र बाकीँ रहेको छ । भदौ महिनासम्म भवनको सवै काम सक्ने बाग्लुङपानी स्वास्थ्य चौकीका प्रमुख रामएकवल रायले जानकारी दिनुभयो । यसअघि गाविसमा वल्र्ड भिजनको आर्थिक सहयोगमा निर्माण गरिएको भवन भएतापनि स्वास्थ्य चौकीको आफ्नै भवन थिएन । भवन निर्माणका लागि बाग्लुङपानी गाविसका सचिव एवं अध्यक्ष तोयानाथ आचार्यको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको थियो । स्वास्थ्य चौकीको आफ्नै भवन भएपछि भवनसँग सँगै बर्थिङ सेन्टर सेन्टरको समेत स्थापना गरिएको छ । बर्थिङ सेन्टरको स्थापना भएपछि सेवाग्राही बढ्ने अपेक्षा गरेको स्वास्थ्य चौकी प्रमुख रायले बताउनुभयो । कपुरगाउँमा यातयातको पहुँच समेत भएकाले सुत्केरी महिलाको संख्यामा बृद्धि हुने उहाँले बताउनुभयो । भवनमा डेलिभरी पोष्ट नेटल वार्ड, एक्जामिनेशन रुम, ट्रिटमेन्ट तथा ड्रेसिङ् रुम, काउन्सिलिङ रुम, फ्यामिली प्लानिङ समेतको व्यवस्था गरिने भएको छ । स्वास्थ्य चौकी निर्माण भएपछि गाविसका भित्रका वडाहरु र छिमेकी गाविस नाल्मा, मालिङ, उत्तरकन्या, घनपोखरा लगायत गाविसका सर्वसाधारणले समेत सेवा लिन सक्ने बाग्लुङपानी स्वास्थ्य चौकीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment