पोखरा, २०७१ कार्त्तिक १६, पछिल्लो समय नेपाली फिल्मले गाउँले परिवेशलाई टपक्क टिपेर कथा बुन्न थालेको
छ । र, यस्ता फिल्मले बजारबाट राम्रो प्रतिक्रिया समेत पाईरहेका छन् ।
खासगरि मुलधारे नेपाली फिल्महरुले गाउँले परिवेशलाई कमै मात्र प्राथमिकता
दिएको पाईन्छ । भलै भाषिक फिल्महरुको सवालमा गाउँले परिवेशले धेरै
पहिलादेखि नै निरन्तरता पाईरहेको छ ।
भाषिक फिल्म मेकर्सहरुमध्ये निर्देशक माओत्से गुरुङको नाम पनि
अग्रपंक्तिमा आउने गर्छ । उनले पछिल्लो समय निर्देशन गरेको फिल्म ‘नरे’ पनि
यस्तै गाउँले परिवेशलाई टपक्क टिपेर निर्माण भएको फिल्म हो । यसको
निर्माणपक्षले यस्तै दाबी गरिरहेको छ । नेपालको सम्पूर्ण छायाँकन कास्कीको
धम्पुसमा सकेको यो फिल्म बाँकी दृश्य छायाँकनको लागि केहि समयभित्रै हङकङ
जाँदैछ ।
को हो ‘नरे’ ?
नरे ग्रामिण भेगको एउटा बेरोजगार यूवा हो । र, यो भूमिकामा गायक नरजंग
गुरुङले अभिनय गरेका छन् । आईतबार विहान एउटा क्याफेमा भएको कफि गफमा
गफिँदै फिल्मका मुख्य पात्र ‘नरे’ अर्थात नरजंग गुरुङले पात्रको
बेलिविस्तार लगाईरहेका थिए । नरजंगको भनाई अनुसार फिल्ममा ‘नरे’ पात्र केहि
सोझो, केहि हाउडे, केहि मिलनसार र मनको राम्रो छ ।
नरेले गाउँमा एउटी युवतीलाई मन पराउँछ । तर विभिन्न वाधा व्यवधान आउँछमन् ।
युवतीको माया पाउन र आफ्नो जीवनलाई सहज बनाउन ‘नरे’ले विदेशिने सोँच
बनाउँछ । मनभरि एउटा चर्चित गायक बन्ने सपना साँचेको ‘नरे’ विदेश जान्छ या
जाँदैन ? ‘यो भने फिल्म हेरेपछि थाहा हुन्छ’, गायक हुँदै नायक बनेका नरजंग
कथा पुरै फुत्केला भन्नेमा सजग देखिए ।
पहिलो फिल्म ‘च्ह च्हमी’ अर्थात ‘छोराछोरी’मा अभिनय गर्नुभन्दा नरजंगलाई
‘नरे’मा काम गर्दा बढि मज्जा आयो । कमेडी फिल्म ‘नरे’का निर्देशक माओत्से
गुरुङप्रति उनी नतमस्तक देखिए । अनुभवी र कलकारको लागि जस्तो सुकै
वातावरणमा पनि सहज हुने निर्देशक माओत्सेको बानी उनलाई सबैभन्दा मनपर्ने
कुरा हुन् ।
नरे र नरजंगमा भिन्नता के छ त ? बुझ्ने कोशिष रह्यो । गफिने क्रममा
नरजंगले भने–‘खासै भिन्नता छैन, केहि हदसम्म फिल्म मेरो जीवनसँग पनि मेल
खान्छ ।’ भिन्नता खोज्ने क्रममा उनले अझै अगाडि थपे–‘नरे एउटा फिल्मको
पात्र हो भने नरजंग वास्तविक जीवनमा एउटा गायक अनि संगीतकार ।’
नरजंग आफुलाई कसरी चिनाउँछन् र एउटा गायक वा अभिनेता ? ‘पक्कै पनि एउटा
गायक भनेर मैले आफुलाई चिनाउँछु ।’ कारण, गायक नै उनको वास्तविक परिचय हो
रे । तर अवसर पाएको खण्डमा अभिनयमा पनि आफु निरन्तर लागिरहने उनले बताए ।
‘नरे’ फिल्म सहित उनले अन्य विभिन्न फिल्ममा गरि हालसम्म २० भन्दा बढि
गीतमा संगीत भरिसकेका छन् । यस्तै फिल्म र एल्बम गरि हालसम्म ८० भन्दा बढि
गीतमा आफ्नो स्वर भरिसकेका छन् । पोखरामै गठित ‘द रिदम ब्याण्ड’का उनी मेन
भोकलिस्ट हुन् ।
Post a Comment