१६ वैशाख - खाडल खनेर जमीनमुनि लुकाइएका ड्रमहरुमा पेट्रोल खन्याइरहेको अवस्थामा रुपन्देही प्रहरीले मंगलबार आयल निगमका १९ वटा ट्यांकरसहित २१ जनालाई नियन्त्रणमा लिएको छ ।भारतबाट ल्याइएको पेट्रोल आयल निगमको डीपोमा नपुग्दै वीचैमा गायव पारिएको अवस्थामा मंगलबार अपरान्ह प्रहरीले समातेको छ। रुपन्देही जिल्लाको पडसरी-१ र मधवलिया गाविसको वडा नंम्बर ३ मा ट्यांकरबाट तेल झिकेर लुकाइरहेको अवस्थामा जिप्रका रुपन्देहीका प्रमुख एसपी विक्रमसिंह थापाको नेतृत्वमा खटिएको टोलीले पेट्रोल तस्करहरुलाई समातेको हो ।खाडलभित्र कोठाजस्तै बनाएर ड्रमहरु राखिएको र त्यसमा ठूला पाइपबाट पेट्रोल खन्याइरहेका बेला प्रहरीले २१ जनालाई समातेको हो । घटनास्थलबाट आयल निगमका १९ वटा ट्यांकर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लुकाइएको १७ हजार लिटर पेट्रोल प्रहरीले बरामद गरेको छ ।विगतदेखि नै आयल निगमका ट्यांकरले यसरी वीच बाटोमै तेल लुकाउने गरेको चर्चा चले पनि प्रहरीले फेला पार्न सकेको थिएन ।भारतको बैतालपुरबाट रुपन्देहीको सुनौली नाका हुँदै नेपाल ल्याइने गरेको पेट्रोल यसरी वीच बाटोमै गायव गरिएको हो । भैरहवा र बुटवलको वीच भागमा सिद्धार्थ राजमार्गस्थित भलबारीमा रहेको पश्चिमाञ्चल डीपोमा खन्याउनुपर्ने तेल वीचमै गायब पार्ने गरेको रहस्य खुलेको छ ।














कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद

Post a Comment

 
Top