परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे आज दक्षिण कोरिया प्रस्तान गरेका छन् पाण्डे सात सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणको लक्ष्य कोरियाली लगानी भित्र्याउने उपायको खोजी तथा नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध अझ सुदृढ तुल्याउने रहेको छ । यसैगरी नेपाली श्रमिकको आकर्षक गन्तव्यका रूपमा रहेको कोरियालाई थप जनशक्ति आपूर्ति गर्ने सम्भावनाको खोजी गर्न पनि मन्त्री पाण्डेको यो भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ ।

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ ।
कोरिया सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल(कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सवको अवसर पारेर कोरिया गएका पाण्डेले कोरियाली लगानी आकर्षित गर्ने तथा द्विपक्षीय(व्यापार प्रवद्र्धन, लगानीका थप क्षेत्र पहिचानलगायत नेपालको आर्थिक(सामाजिक रूपान्तरणमा योगदान गर्न सोलस्थित नेपाली राजदूतावासले जेठ १ गतेदेखि आयोजना गर्ने तीनदिने लगानी प्रवद्र्धनसम्बन्धी कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै समकक्षी युन ब्युङसेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख अम्बिकादेवी लुईंटेल, सोही मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रीको सचिवालयका शाखा अधिकृत पुरुषोत्तम ढुङ्गेल रहेका छन् ।
त्यसतर्फप्रस्थान गर्ने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले छोटो समयमा विकास गरेको कोरियाको बढ्दो लगानीलाई नेपालमा भित्रयाउने तथा लामो समयदेखि हुन नसकेको दुवै देशबीचको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिएर सम्बन्ध अझ सुदृढ गराउनु भ्रमणको लक्ष्य रहेको बताए । 
निर्यात कम आयात बढी भए पनि लगानी प्रबर्धन  कार्यशालामार्फत्  कोरियाका लगानीकर्तालाई विश्वास दिलाएर नेपालको पर्यटन र जलस्रोतलगायत क्षेत्रमा त्यहाँको लगानी भित्रयाउन सकिने अवस्था रहेको मन्त्री पाण्डेले उल्लेख गरे । उनले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या भए द्विपक्षीय वार्ताका माध्यमबाट समाधान गरिने बताए । साभार रातोपाटी

Post a Comment

 
Top