काठमाडौं, फागुन १२ – सत्तारुढ नेकपा एमालेले केन्द्रीय सदस्यको मनोनयन र कार्यविभाजन बुधबारसम्म टुंग्याउने दाबी गरेको छ । गुटगत स्वार्थका कारण महाधिवेशन सकिएको ८ महिनासम्म केन्द्रीय सदस्यलाई जिम्मेवारी बिहन बनाएको एमालेले बुधबारसम्म जिम्मेवारी बाँडफाँट गर्ने दाबी गरेको हो । 
पार्टी मुख्यालयमा मंगलबार बसेको स्थायी समितिको बैठकमा पार्टी महासचिव इश्वर पोखरेलले १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रीय सदस्यको मनोनयन तथा केन्द्रीय सदस्यको कार्यविभाजनको विषयमा प्रस्ताव पेश गर्नुभएको छ ।
यसअघि पटक पटक बसेको बैठकमा विवाद नसल्टिएपछि स्थायी समितिले सचिवालयलाई र सचिवालयले महासचिवलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । पार्टी सचिव प्रदिप ज्ञवालीले महासचिव पोखरेलले पेश गरेको प्रस्तावमाथि छलफल गरेर बुधबारसम्म सबै विवाद टुंग्याउने दाबी गर्नुभयो ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले महत्वपूर्ण भूगोल र विभागमा आफू पक्षीय नेतालाई जिम्मेवारी दिनुपर्ने अडान लिएका कारण तथा विदेश विभागको प्रमुखमा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनालले दाबी गरेका कारण एमालेमा कार्यविभाजनको विषय पेचिलो बनेको हो ।
कार्यविभाजनको विषयमा सहमति जुटाउन असफल स्थायी समितिको बैठकले एकीकृत नेकपा माओवादीले मुलुकमा अराजकता फैलाउन खोजेको ठहर गरेको छ । बैठकमार्फत एमालेले प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि वार्तामा आउनुको साटो एमाओवादीले बाराको कलैया र सिमरा तथा सुनसरीको धरान र इनरुवामा सरकारी निर्णय कार्यान्वयन हुन नदिन अराजक गतिविधि गरेको आरोप लगाएको छ ।
मालपोत र नापी कार्यालयलाई कलैयाबाट सिमरा तथा इनरुवाबाट धरानमा विस्तार गर्ने निर्णयको विरोधमा स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि सरकार पछि हटेको थियो ।

Post a Comment

 
Top