जंगलभित्र हराएको बाटो’ ट्रयाकमा ल्याउने बाबुरामको सूत्र
काठमाडौं, फागुन २७ – एकीकृत नेकपा माओवादीका नेता डा। बाबुराम भट्टराईले सत्तापक्ष र प्रतिपक्षबीच अहिले अघोषित युद्धबिरामको जस्तो अवस्था रहेको भन्दै कांग्रेस र एमालेले चाहेमा छिटै सहमति हुने बताउनुभएको छ । बुधबार ललितपुरमा केही पत्रकारसँगको छलफलमा उहाँले संविधान निर्माण प्रक्रिया जंगलमा हराएको बाटो जस्तो रुमल्लिएकोले यसलाई ट्रयाकमा ल्याउने प्रयत्न भैरहेको बताउनुभयो ।
‘कांग्रेस र एमालेले बहुमतीय प्रक्रियामा गएर बाटो बिराएकाले त्यसलाई ट्रयाकमा ल्याउने अहिलेको प्रयत्न हो’ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले भन्नुभयो, ‘संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रिया खारेज गर्ने र समितिमार्फत विवाद समाधानको कोशिस भएमा अहिलेको समस्या हल हुन्छ ।’
प्रमुख दलहरु बसेर छलफल थाल्ने बित्तिकै समस्या हल हुँदै जाने उहाँको भनाई छ । ‘यसअघि घोषित मिति माघ ८ मा संविधान जारी नभएपछि सहमतिमार्फत नै संविधान जारी गर्ने अर्को मितिबारे साझा प्रतिबद्धता जनाउने बित्तिकै संवाद अघि बढ्छ र समस्या हल हुँदै जान्छ’ उहाँले भन्नुभयो । गणतन्त्र दिवसको दिन जेठ १५ गते संविधान घोषणा गर्न सकिने उहाँको भनाई छ ।
प्रक्रिया रोकेर आफु सभापति रहेको समितिमार्फत विवाद समाधान गर्नुपर्नेमा उहाँले पटकपटक जोड दिनुभयो ।
Post a Comment