कमल थापाले राजतन्त्र छाड्ने, सूर्यबहादुरले धर्म सापेक्ष मान्ने ?
२७ फागुन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिसमशेर जबरा नेतृत्वको राप्रपावीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ । तर, दुई पार्टीवीच राजतन्त्र र हिन्दु धर्मलाई हेर्नेबारे मतभेद रहेकाले पार्टी एकता निकै चुनौतीपूर्ण छ ।
तर, मालीगाउँमा हालै सम्पन्न सूर्यबहादुर थापा र कमल थापावीचको छलफलले पार्टी एकताको वातावरण बनाएको दाबी राप्रपा नेताहरुले गरेका छन् ।
राजनीतिक हिसाबमा कमल थापाले राजतन्त्र पुनःस्थापनाको एजेण्डा छाड्ने र सूर्यबहादुर थापाले धर्म सापेक्षता मान्ने सम्भावनालाई एकताको मुख्य आधार मानिएको छ ।
सुरुमा वार्ताको प्रस्ताव कमल थापा आफैंले बढाएका हुन् । थापाले राप्रपा अध्यक्ष पशुपतिसमशेर राणासँग भेटेपछि राणाले सूर्यबहादुरलाई भेट्न भनेका थिए ।
सूत्रहरुका अनुसार भेटमा सूर्यबहादुर थापाले कमल थापालाई राजतन्त्रको नारा परित्याग गर्न भनेका छन् । ‘राजाले आफैं गणतन्त्रलाई स्वीकार गरेर नागार्जुन गएका हुन्, त्यसैले हामीले किन गणतन्त्रलाई आत्मसाथ नगर्ने रु’ सूर्यबहादुर थापाको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।
त्यसैगरी हिन्दु राष्ट्रको नारामा पनि राप्रपा नेता थापाले कमल थापासँग असहमति जनाएका छन् । हिन्दु राष्ट्रको मागले आदिवासी एवं जनजाति समुदायमा राप्रपाप्रति वितृष्णा बढ्ने सूर्यबहादुर थापाको विश्लेषण छ ।
स्रोतका अनुसार आफ्नै पार्टीभित्रका आदिवासी जनजाति समुदायको दबावका कारण राप्रपा अध्यक्ष पशुपतिसमशेरले समेत आफ्नो पार्टीबाट ‘हिन्दु राष्ट्र’ पारित गराउन सकेका छैनन् ।
तर, सूर्यबहादुर थापा र कमल थापावीचको छलफलपछि हिन्दु राष्ट्रको साटो ‘सर्वधर्म सापेक्ष राष्ट्र’ मा सहमति हुन सक्ने संकेत देखिएको स्रोतले बतायो । सर्वधर्म सापेक्षभन्दा हिन्दुका साथै किरात, मुस्लिमलगायत नेपालका अन्य जातजाति र समुदाय पनि समेटिने दाबी राप्रपा नेताहरुको छ ।
Post a Comment