उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम सोमबार हेलिकप्टरबाट अर्घाखाँची सदरमुकाम सन्धीखर्क जानुभयो । त्यहाँ नवनिर्मित नेपाल प्रहरीको भवनको उद्घाटन गर्नुभयो र फर्किने क्रममा १० मीनेट दूरीमा अवस्थित आफ्नो गृहजिल्ला प्यूठान पुगेर स्थानीयबीच साक्षात्कार गर्नुभयो ।  केही सञ्चारमाध्यमले हेलिकप्टर प्रयोग गरेको कुरालाई अनावश्यक रुपमा उछालेका छन् । आजको जमानामा देशको गृहमन्त्री नाइट बस चढेर सन्धीखर्क पुगोस् र काठमाडौंमा गर्नुपर्ने तमाम काम एउटा जिल्ला प्रहरीको भवन उद्घाटनका नाममा अस्तव्यस्त रहुन् भन्ने चाहना हो भने अर्कै कुरा, नत्र नेपालका मन्त्रीहरु निजी विमान वा हेलिकोप्टरबाटै ठाउँ-ठाउँ पुग्छन्, कार्यक्रम सम्पन्न गर्छन् र राजधानी फर्किन्छन् ।  यो काम गृहमन्त्री गौतमले मात्र हैन, हरेक मन्त्रीबाट हुन्छ । तर, श्रृंखलावद्धरुपमा हेलिकप्टरको विषयलाई लिएर गृहमन्त्रीमात्र समाचारको पात्र बनिरहँदा त्यसमा कति स्वाभाविक तर्क छन्, कति नियोजित भूमिका छन् भन्नेबारे विचार गर्नैपर्छ ।  फेरि हेलिकप्टर आजका गृह वा अर्को कुनै मन्त्रीले मात्र चढेका छैनन्, हरेकले चढ्छन्, कार्यव्यवस्तताका कारण । उपप्रधानमन्त्रीको सन्धीखर्क भ्रमण उहाँको निजी काम थिएन । नेपाल प्रहरीको भवन उद्घाटनका लागि प्रहरी प्रधान कार्यालयले व्यवस्थापन गरेको भ्रमण तालिकाअनुरुप उहाँ प्रहरी महानिरीक्षक, उच्च प्रहरी अधिकारीहरु र पंक्तिकारसहितका केही आफ्ना सहयोगीसाथ त्यहाँ पुग्नुभएको थियो । त्यसरी प्रहरीले आफ्नो कार्यालयीय प्रयोजनका निम्ति नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्दा उसले सेनालाई भाडा बापत कति रकम तिर्यो भन्ने कुरा प्रहरीकै सरोकारको विषय हो । त्यसक्रममा गृह मन्त्रालयबाट कुनै कोषको प्रयोग भएको छैन । एक लिटर इन्धन पनि खर्च भएको छैन ।  सुनिएअनुसार, प्रहरीले सेनासँग कार्यालयीय प्रयोजनका निम्ति हेलिकप्टर प्रयोग गर्दा भाडादर मिनाहा हुन्छ र इन्धनको रकम मात्र भुक्तानी गर्छ । बजारमा हल्ला छरिएजस्तो कतिवटा लाख खर्च भएको कुरा पत्यारयोग्य छैन । तर, हल्ला यसरी पिटियो कि, गृहमन्त्रीले हेलिकप्टर चढिदिँदा देशै बर्बाद भयो, राज्यकोष नै स्वाहा भयो ।  देशका राष्ट्रपति, प्रधानमन्त्रीसहित यस्ता कार्यकारी भूमिकामा रहेका उच्चपदस्थहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा यस्तै यातायातको माध्यम प्रयोग गर्ने गरेका छन् । वामदेव गौतमले उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि र उहाँ त्यो पदबाट हटेपछिका दिनमा पनि त्यो सिलसिला जारी रहन्छ । तर, नियमित क्रमलाई कुनै आश्चर्यजनक विषयझैं प्रस्तुत गर्ने र व्यक्तिलाई बद्नाम गर्ने नियत राख्नु सर्वथा अनुचित कुरा हो ।  कुनै एउटा रंगीन कलेबरको साप्ताहिक पत्रिका छ, जसले कुनै गुट र समूहको स्वार्थपूर्तिका निम्ति यस्ता बकबास गरेर हिँड्छ । उसले आफ्नो गुट र समूहका कस्ता-कस्ता जघन्य विसंगति देख्दैन, तर विपरीत खेमाका हरेक चिज देखेजस्तो गरेर विशुद्ध मानमर्दनका निम्ति आफ्ना पाना खेर फालिरहेको हुन्छ । तर, पढ्नेले बुझ्छन् कि त्यसले किन त्यस्तो लेख्यो भनेर ।  त्यस्ता ‘ठोकठाक’ कम्पनीका साप्ताहिकले इमान्दार पत्रकारिता गरेका थिए भने आज साप्ताहिक अखबारको बजार यति नराम्रोसँग शायद गिर्ने थिएन । यस्तै भएर हो, जनताले तिनलाई रुचाउन छाडेका । यसकारण तिनीप्रति धेरै गुनासो नराखौं । त्यसरी नै ‘खाइजिविका’ चलाउनुपर्नेहरुको पनि बाध्यता बुझ्नैपर्छ ।  तर, आफूलाई व्यावसायिक दाबी गर्ने सञ्चारमाध्यमले ‘उडन्ते’ पारामा समाचार छाप्नु गम्भीर विषय हुन्छ । प्रकाशनगृहको नीति त्यस्तो होइन, तर समाचारका पंक्ति हेरिरहँदा संवाददाताहरु उति गम्भीर भएर समाचार लेखिरहेका छैनन् भन्ने बुझिन्छ । किनभने, त्यो भ्रमणका क्रममा उपप्रधानमन्त्रीको टोलीले पोखरा पुग्नु त के, देखेको पनि थिएन । बरु, त्यहाँबाट प्यूठान गएको कुरा सत्य हो ।  एउटा मान्छे धेरै टाढाबाट कुनै कामले छिमेक कहाँ पुग्यो भने दुई-चार पाइला अगाडिको घर पुग्न चाहन्छ । यो मानवीय स्वाभाव हो । एउटा जनप्रतिनिधिका लागि आफ्नो निर्वाचन क्षेत्र घरजत्तिकै हुन्छ । अर्घाखाँचीबाट १० मिनेटमा पुगिने आफ्नो घरमा त्यो जनप्रतिनिधिले जाने इच्छा राख्नुलाई ठूलै पहाडजस्तो बनाएर प्रस्तुत गर्नु कत्तिको मनासिव होला ? सोचनीय विषय हो ।
प्यूठानका कुरा  
त्यहाँको क्षेत्र नं. १ बाट गत संविधानसभा निर्वाचनमा विजयी हुनुभएका एमाले उपाध्यक्ष वामदेव गौतम पाँच महिनापछि प्यूठान पुग्नुभयो । वास्तवमा त्यो पाँच महिना पनि ढीलोमा पुग्नुभएको थियो । किनभने, पुल अभावका कारण आक्रान्त प्यूठानीका लागि भिंग्री गाविसमा बन्न लागेको अस्थायी पुल (बेलिब्रि ज) महत्वको विषय हो । ढिलाइप्रति क्षमा माग्दै उहाँले अबको तीन महिनाभित्र भिंग्रीमा बेलिबि्रज उद्घाटन गर्न आफैं पुग्ने बचन दिनुभएको छ । ०७१ सालको अन्त्यसम्ममा अर्को तीनवटा बेलिबि्रज जिल्लाका विभिन्न भागमा बन्दैछन् ।  बेलिबि्रज बनेसँगै ती ठाउँमा स्थायी पुल निर्माणको काम पनि तीव्रताका साथ अघि बढ्दैछन् । अर्को महत्वपूर्ण काम भएको छ, जिल्लाकै चेरनेटामा यसै वर्ष प्यूठानीले हवाइजहाज पुगेको देख्न पाउँदैछन् । त्यसका लागि उपप्रधानमन्त्री गौतम र पर्यटनमन्त्री भीम आचार्यबीच सहमति भइसकेको छ । चेरनेटामा एयरपोर्ट बनेपछि त्यहाँ जाने पहिलो विमानबाट पहिलोपटक अवतरण हुने व्यक्ति नै वामदेव हुने बचन पनि उहाँले दिनुभएको छ ।  चेरनेटा एयरपोर्टमा ओर्लिएर यात्रुहरुले गन्तव्यसम्म पुग्नका निम्ति तयार पार्नुपर्ने अन्य पूर्वाधारका कामलाई पनि त्यही रफ्तारमा अगाडि बढाइसकिएको कुरा उहाँले दाखाक्वाडीमा आयोजित भेटघाट कार्यक्रममा स्थानीयसँग अन्तरक्रिया गर्नेक्रममा बताउनुभयो ।  बुटवल पावर कम्पनीमार्फत प्युठान जिल्लाभरि नै विद्युतीकरणको कामले रफ्तार पाउँदैछ । गणतान्त्रिक खेलकुद मैदानलाई स्टेडियमको रुप दिने कामको शुरुवात यही वर्षबाट हुने भएको छ । जिल्लामा उर्जा, पर्यटन -धार्मिक-भौगोलिक) र कृषिको विकासलाई उहाँले महत्व दिनुभएको छ । नौमुरे बहुउद्देश्यीय परियोजना, झिम्रुक परियोजनाजस्ता स्वप्नयोजनाले यही वर्षबाट मूर्तता पाउने गरी काम अघि बढेको जानकारी उहाँले दिनुभएको छ ।  जिल्लामा बसोबास गर्ने ४७ हजार परिवारमध्ये बेरोजगारीमा रहेका परिवारका कम्तिमा एकजनालाई रोजगारी दिने अभियान (एक परिवार, एक रोजगार) पनि शुरु भएको छ । त्यो क्रम क्षेत्र नं. १ हुँदै २ मा पनि पुग्ने भएको छ । रोजगारी दिनुपर्ने परिवारको संख्या धेरै भएका कारण एउटा क्षेत्रमा हजार परिवारका एक-एक जनाले रोजगारी पाएपछि अर्को क्षेत्रमा पनि त्यही संख्यामा रोजगारी दिने गरी उहाँले तयार पार्नुभएको योजनाले प्यूठानी जनतामा उत्साह छाएको छ ।  
सम्पर्क कार्यालयको उदघाटन  
क्षेत्र नं. १ कै दाखाक्वाडीमा सभासद्का हैसियतले गौतमले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । उक्त कार्यालयमा सधैं जिल्ला र राजधा
नीबीच आवश्यकता र समस्या आदानप्रदान गर्ने कामका लागि पार्टीका आधिकारिक व्यक्ति रहने भएका छन् । यसबाट जनताका कुरा बुझ्न र त्यहाँ गर्नुपर्ने कामका कुरामा सहजता आउने उहाँको बुझाइ छ ।  
स्वर्गद्वारीको दर्शन  
क्षेत्र नं. १ मै पर्ने प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारीको भ्रमण पनि त्यसक्रममा सम्पन्न भयो । संसारका विभिन्न भागबाट भक्तालुहरु त्यहाँ पुग्ने गर्दछन् र स्वर्गद्वारीको धार्मिक पर्यटन प्यूठान जिल्लाको एउटा महत्वपूर्ण आयस्रोतका रुपमा विकास गर्ने गरी काठमाडौंमा केही योजना बनेका छन् ।  तीबाहेक त्यहाँका आवश्यकता बुझ्नका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । पुगेपछि थाहा भयो, स्वर्गद्वारी जाने बाटोको दुई ठाउँमा प्रहरी चौकीको आवश्यकता छ । हेलिकप्टरबाट पुग्ने पर्यटकको सहजताका लागि व्यवस्थित अवतरणस्थल निर्माण गर्नुपर्ने अर्को काम बाँकी रहेछ ।  स्वर्गद्वारीमा रहेको गौशाला र मन्दिरको दुरी केही बढाउँदा तीर्थालुलाई सहजता पुग्ने कारण त्यो काम पनि चाँडै अगाडि बढाउनुपर्ने स्थिति रहेछ । यिनै कुराको जानकारी लिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री त्यहाँबाट राजधानी फर्किनुभएको छ ।

कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद

Post a Comment

 
Top