गोरखा, २५ वैशाख  : गोरखाको विकट उत्तरी क्षेत्र सिर्दिवासमा ३ दिने आँखा शिविर सम्पन्न भएको छ । विकास निर्माण, स्वास्थ्य तथा शिक्षामा समेत पिछडिएका उत्तरी गोरखाका ७ गाविसका बासिन्दाका लागि लक्षित गरेर सञ्चालन गरिएको आँखा शिविरमा ५० जनाको शल्यक्रिया भएको छ ।

लायन्स क्लब अफ गोरखार जिल्ला स्वास्थ्य कार्यालय गोरखाको संयुक्त आयोजना रहेको उक्त शिविरमा मनास्लु संरक्षण क्षेत्र आयोजना, हिमाली क्षेत्र विकास केन्द्र लगायतका सङ्घसंस्थाको सहयोग रहेको थियो । शिविरमा हिमालय आँखा अस्पतालका डा इन्द्रमान महर्जनको नेतृत्वमा रहेको टोलीको आँखाको जाँच तथा शल्यक्रिया गरेको थियो ।

सिर्दिवास गाउँ विकास समितिको फिलिममा भएको उक्त शिविरमा गोरखाका उत्तरी गाविसहरु सिर्दिवास, ल्हो, प्रोक, सामागाउँ, विहि, चुम्चेत र छेकम्पारका बासिन्दाहरुले आँखा जाँच गराएका छन् । स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको उक्त शिविरमा गोरखा अस्पतालका प्रमुख डा. केशवराज भुर्तेलको समेत सहभागिता रहेको थियो ।

शिविरमा आँखाका साथमा सामान्य चिकित्सा, स्त्री रोग, बाल रोग लगायतको पनि बिरामीहरुको उपचार भएको थियो ।

Post a Comment

 
Top