गोरखा  : च्याङ्लीमा एक बोल्न नसक्ने महिलामाथि जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परेकालाई छुटाउनका लागि आर्थिक प्रलोभनमा पारिएको खुल्न आएको छ । गत चैत १९ गते च्याङ्ली गाउँ विकास समितिको वडा नं. ६ की हरिमाया (नाम परिवर्तन) लाई जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परेको सोही स्थानका दयाराम लामिछानेलाई छुटाउनका लागि पिडित पक्षलाई ५० हजार दिने सहमति भई झुटो बयान दिन लगाइएको खुल्न आएको छ ।

घटनामा अभियोग लागेकाहरुले घटनाको जाहेरीवाला पिडित पक्षलाई रु ५० हजार दिने सहमति गराइएको थियो । कसुरवालाले रकम दिएर आफ्नो पक्षमा बोल्न लगाएका तर सहमति बमोजिमको रकम पिडित पक्षलाई नदिएपछि घटना बाहिर आएको हो ।

मितिनीको घरमा गएकी बेला पिडित हरिमायालाई दयारामले चैत १९ गते  राती जबरजस्ती गर्न खोजेका थिए । पिडित महिलाले घरमा गई आफ्नो दाजुलाई सो कुरा बताएपछि दाजुले दयारामको नाममा किटानी जाहेरी दिएका    थिए । जाहेरी परेपछि प्रहरीले दयारामलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ ।
दयाराम पक्षले पिडित परिवारलाई रु ५० हजार दिई घटना नभएको बताउन लगाएका थिए ।

स्रोत भन्छ, ‘रु ५० हजार दिने भनेपछि पिडितका दाजुले बोल्न नसक्ने मेरी बहिनीले भनेको कुरा होइन रहेछ भन्दै अदालतमा बोले ।’ तर अदालतबाट बाहिर निस्किए लगत्तै रकम माग गर्दा रु ४ हजारमात्रै दिएपछि थप रकम पाउनेमा पिडित पक्ष सशंकित भएका थिए । भोलीपल्ट रकम माग्न जाँदा रकम दिलाइदिनका लागि जमानी बसेका भनेका व्यक्तिले नै रकमका बारेमा केही थाहा नभएको बताएपछि घटना बाहिर आएको हो ।

‘पचास हजार दिन्छौँ, हाम्रो पक्षमा बोल्नु भनेर लगाए, तर उनीहरु (कसुरवाला) को पक्षमा बोलेपछि त ४ हजारमा पो टार्न खोजे’ पिडित पक्षलाई उदृध गर्दै नाम नखुलाउने शर्तमा एक स्थानीयले बताए ।

Post a Comment

 
Top