गोरखा : मदिरा सेवन गरी घरमा श्रीमती कुट्ने पुरुषहरुलाई गतिलो पाठ, अब महिलाहरुको सक्रियतामा गोरखाको देउरालीमा मदिरा सेवन तथा जुवातासमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

वैशाख २८ बाट लागू हुने गरी देउराली गाउँ विकास समिति भरी मदिरा बेचबिखन तथा सेवन गर्न र जुवातास खेल्न प्रतिबन्ध लगाइएको हो । गाउँमा रहेको महिला समूहको बृहत भेलाले यस्तो निर्णय गरेको देउराली गाविस स्तरीय महिला सञ्जालकी अध्यक्ष क्षेत्रकुमारी ओलीयाले जानकारी दिइन् ।

महिला भेलाले मदिरा बेचविखन गर्ने र सेवन गर्ने तथा जुवातास खेल्ने र खेलाउनेलाई नगद जरिवाना गर्ने निर्णय समेत गरेको छ । जस अनुसार मदिरा बेच्नेलाई १ हजार ५ सय, खानेलाई १ हजार, जुवातास खेलाउनेलाई ५ हजार, खेल्नेलाई १ हजार रुपैया जरिवाना गरिनेछ । यस्तै मदिरा सेवन गरेर होहल्ला गर्नेलाई २ हजार रुपैया जरिवाना गरिने सञ्जालकी अध्यक्ष ओलियाले बताइन् ।

यस्तै भेलाले गाँजा सेवन गरेको फेला परेमा १ हजार र बेच्नेलाई २ हजार रुपैयाँ जरिवाना गर्ने समेत निर्णय गरेको छ । महिलाहरुको उक्त कार्यलाई इलाका प्रहरी कार्यलय मझुवा देउरालीले समेत सहयोग गर्ने जनाएको छ ।

Post a Comment

 
Top